Friday, February 27, 2009

Asta Ja

I enjoyed reading Acharya Jiu's poem below. Although the poem was meant for the Lokarpan of Mohan-Mahakabya Sismsar Ka Rajdoot, Acharya Jee begins his poem with Asta Ja and recognizes Asta Ja as the resouce-base and the power of the nation.
Durga D. Poudel
मोहन-महाकाव्य
नरहरि आचार्य


आज बिहान
अष्ट 'ज' को कार्यक्रममा थिएँ।
नवौं 'ज' अर्थात् जीविकोपार्जनका लागि अमेरिका पुगेका
प्राध्यापक दुर्गादत्त पौडेल नेपालको समृद्धि र समुन्नतिका लागि
अष्ट 'ज' को कार्यपत्र लिएर
सायद विदाको मौका छोपेर काठमाडौं आएछन्।

उनी भन्दै थिए,
नेपालमा
जल
जमिन र
जराजुरी छन्।
जनावर
जंगल र
जडीबूटी पनि छन्।
जलवायुको विविधता र
जनशक्तिको सामर्थ्य पनि छ।
सारांशमा नेपालको समग्र साधन यही हो,शक्ति यही हो।

कस्तो संयोग
कस्तो अनौठो
आजै पुस्तक लोकार्पणमा आउन पाइयो
मोहन कोइरालाले नियुक्त गरेका
सिमसारका राजदूत संग भेट्न पाइयो
हिजो राजा-महाराजाहरूले नियुक्त गर्थे
आज
देशमा साँच्चै गणतन्त्र आएछ
राजदूत, कविहरुले पनि नियुक्त गर्न थालेछन्
खुशी लाग्यो।

यहाँ आउनु अघि
एकछिन युवाहरूको जमघटमा थिएँ,
उनीहरू देश बनाउन आफ्नो भूमिका खोज्दै थिए,
बडो हतारमा थिए, देशलाई हाम्रो बनाएर पुगेन भन्दै थिए,
राम्रो बनाउने सुरसारमा थिए।

म आफै हतारमा थिएं,
सिमसारका राजदूतलाई भेट्न
तुलसीको आमन्त्रण थियो,
शिष्टाचार भेट मात्रै हो कि
केही प्रस्ताव पानि राख्नुपर्ने हो,
विषयसूची बनेको थिएन
म अन्योलमा थिएँ।
राजदूतको परिचय
गोबिन्दले टक्र्याएका छन्,पाठक समक्ष
अगुवाइ गरेर उनैले ल्याएछन्
ओहदाको प्रमाणपत्र प्रस्तुत गराउन।


मैले यहाँ आएर के भन्ने ?
म द्विविधामा थिएँ
मोहन कोइरालाई सानैदेखि चिनेको थिएँ,
उनी कवि थिए, म पाठक थिएँ
त्यसो त विद्द्यार्थी पनि थिएँ
पाठ्यक्रममा उनका कविता पढें
तर, फर्सीको जरा फेलापार्न कठिन भयो
गुरुहरू व्याख्या गर्थे, म सुन्थें
बुझ्यौ भन्थे
बुझे जस्तो पनि लाग्थ्यो
तर के बुझें ?
राम्रोसंग आफैलाई थाहा थिएन
तैपनि लेख्थें ,नम्बर आउँथ्यो, दंग पर्थें।

त्यसैवेला,
हामी विद्दयार्थी हुंदैगर्दा
काव्यपण्डित ईश्वर बरालले बडो दुख गरेर
फर्सीको जरा खोजेछन्,
लेकको जडीबूटी भेटेछन्,
ठूलै संग्रह बनाएछन्।
हाडे ओखर सियोले झिकेर खाँदा स्वादिलै हुन्छ,
हामीलाई पनि दिए, चाख्यौं, मीठै लाग्यो।

सम्झन्छु,
छत्तीस सालको सडक कविता
कविताबाटै क्रान्ति बढाउने कविहरूको प्रयत्न
क्रान्तिका अगुवा मोहन कोइराला
वानेश्वरमा देवकोटाको शालिक उदघाटन
मोहन कोइरालाले कविता पढे-
'वी.पी.कोइराला ,स्यांजामा लडाइएका ढुंगाहरूले किचिएनन्'
मान्छेहरूले भने- लौ नयाँ कुरा भो, मोहन कोइरालाका कविता बुझियो।


कुनै वेला लाग्थ्यो, कति लेख्छन् यस्तो कविता
सबै उस्तै
तर त्यस्तो होइनरहेछ,
कवितासंग एकछिन बस्नु पर्दोरहेछ,
दु:ख-सुख बिसाउनु पर्दोरहेछ।

त्यहाँ एकथोक होइन अनेकथोक छन्,
एउटै मान्छे होइन अनेक मान्छे छन्,
अनेक मन भएका एउटै मान्छे छन्।
सारंगी बोकेको समुद्र छ,
नदी किनाराका माझी छन्।
वारी पारी चलिरहेछ,
परिवर्तनका अनेकौं सृङ्खलाहरू छन्
ऋतु आइरहेछन्, ऋतु गइरहेछन्।
महको स्वाद मात्रै होइन
रंग फेला परेको छ,
जाँदाजाँदै एउटा नयाँ आविष्कार भएकोछ,
सिमसारका राजदूत फेला परेकाछन्
कविताले नयाँ विषय पाएकोछ,
नयाँ शिल्प समातेकोछ,
नेपाली कवितामा एउटा नयाँ महाकाव्य आएकोछ।


हिजोका काव्यशास्त्रहरू माग गर्थे
महाकाव्यमा कम्तीमा आठसर्ग हुनैपर्छ
आजका काव्य-संविधान के भन्छन्
सायद कतै लेखिनै बाँकी छ।
तर
सीमसारका राजदूत मा चौध सर्ग भेटिएकाछन्
केही कवि मोहनले लेखेकाछन्
केही काव्यसम्पादक गोविन्दले फेला पारेकाछन्,
ती सबै यस्ता छन्-
दुर्गमयात्रा
करतब एक फुल उचाल्छ
गुलाफवती भएकीछ
पदमतालमा
पदमतालमा झुम्का चौधरिया
फेरि झुम्का
पंक्षीयात्रा
थारुव्युटी
सुन्दरी पर्व
मिस थारु सुन्दरी
पत्रको घुइँचो लाग्यो
सुकिला हाँस
संसार लीला
आत्मदाहको क्षण


यसमा पात्रहरू छन्
त्यसैले कथा पनि छ
कथा सीमसारका राजदूत बनेका
चराहरूको मात्र होइन
मान्छेका गहिरा कथाहरू छन् ।

दुर्गम महतो मुख्य पात्र बनेको छ
उसंग जोडिएकी गोरी सुकुमेल छ
सुकुमेल गुलाफवती भएकी छ
गुलाफवतीसंग अतीत जोडिएकोछ
दरवारिया सामन्ती अतीत
काठमाडौंको जर्साब।
यही अँध्यारो सम्बन्धले
उज्यालो कुमार जन्मिएको छ,
कुमार- पिताको भूमिका प्राप्त भएकोछ
मधेसी युवा दुर्गमलाई।

अरु पनि पात्रहरू छन्
पात्रहरूको बथान छ,
पदमपुर छ र पदमपुरकै करतब चौधरी छ
करतबकी पत्नी छे , कुन्ती
नयाँ युगकी प्रतिनिधि भएर उभिएकी
छोरी झुम्का छे
विदेशी अतिथि रवर्ट मैक छ
तराई-मधेसका गाउँले छन्
सबै दृष्टिले समावेशी
पात्र-समायोजन
निष्कर्षमा पदमपुर र कान्तिपुरसंगको
अनौठो सम्बन्ध बनेकोछ।

साइबर-पात्रा
झुम्का चौधरिया
थारु सुन्दरी भएकी छे
प्रतियोगितामा उसले
चरा संरक्षणको कसम खाएकी छ
चरा-अस्पतालको नयाँ कुरा ल्याएकी छ
तर
स्थिति रमाइलो मात्र छैन
नरमाइलो बाटो पनि हिडेको छ
अकस्मात्
आफ्नैहरूका बीच
युद्धघोषणा भएकोछ
चराहरूले आत्महत्या गरेकाछन्
झुम्का हराएकी छ।

प्रतीकहरू छन्
विम्बहरू छन्
अनुप्रास र
उत्प्रेक्षाहरू छन्
किनारिएका विषयहरू छन्
हिजोको समय छ
आजको समय छ
समय आफै पात्र बनेर बोलेकोछ
सिमसारका राजदूत
समकालीन समय-पीडाको
नयाँ महाकाव्य बनेकोछ।

(२०६५ पौष १९ गते सिमसारका राजदूत लोकार्पण गर्दै आचार्यद्वारा प्रस्तुत अभिव्यक्ति)

1 comment:

  1. Dear friends of Asta Ja:
    They say "morning shows the day!" And this is a good morning for this movement. I have not been able to contribute to this good endeavor effectively thus far. However, please take my words of encouragements and note that you have followers behind you.
    Sincerely,
    Pramod Dhakal
    Ottawa, Canada

    ReplyDelete